Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, दोलखा

इलाका प्रशासन कार्यालय , सिंगटीबजार, दोलखा

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, दोलखा

इलाका प्रशासन कार्यालय , सिंगटीबजार, दोलखा

न्यून व्यान्डविथ Invert Color A- A A+

नयाँ नागरिकता बनाउने सम्बन्धमा महत्वपूर्ण जानकारी

 

१. नेपाली नागरिकताको भनेको के हो ? नागरिकता किन चाहिन्छ ?

नेपालको नागरिक हो भनी राज्यले दिएको प्रमाण नेपाली नागरिकता हो । राज्यको सदस्यको रुपमा नेपाली नागरिकले मात्र नेपालको नागरिकता पाउँछ । यो राज्यले आफ्ना नागरिकलाई पहिचान गर्न, शिक्षा हासिल गर्न र व्यापार व्यवसाय गर्ने जस्ता कानूनले प्रत्याभूत गरेको आधारभूत नागरिक अधिकारहरूको उपभोग गर्ने महत्त्वपूर्ण आधार हो । घर जग्गा लगायत सम्पत्तिको प्राप्ति र हस्तान्तरण, राहदानी प्राप्ति, मताधिकार, बैंङ्क खाता जस्ता विभिन्न काममा नागरिकता अनिवार्य हुन्छ ।

२. नेपालमा नागरिकता कति किसिमका छन् ?

नेपालको संविधान र ऐन कानून अनुसार ४ किसिमका नागरिकता रहेको छ । जसमा वंशज, जन्मको आधार, अङ्गीकृत र सम्मानार्थ नागरिकता हुन् ।

३. नागरिकता प्रमाणपत्रको हिफाजत कसरी गर्ने ? खोल हाल्ने की लेमिनेशन गर्ने ?

नागरिकता जस्तो महत्वपूर्ण एवं संवेदनशील कागजातलाई हिफाजतसाथ प्रयोग गर्ने र राख्ने गर्नु पर्दछ । अरुको नागरिकता प्रयोग गरेर गैरकानूनी काम गर्न सक्ने हुँदा आफ्नो नागरिकता अरुलाई प्रयोग गर्न दिनु हुँदैन । नागरिकताको कार्ड प्रिन्ट गरेको हुन्छ र यसमा लेख्न केर्ने वा कुनै संकेत गर्न हुँदैन । कार्डमा कुनै विवरण थप घट गर्नु नहुने हुँदा यसलाई प्लाष्टिकको खोलमा राख्न सकिन्छ वा लेमिनेशन गर्न सकिन्छ । तर नयाँ कार्डमा मसि सेट हुन केही समय लाग्ने भएको हुँदा लिएको महिना दिन पछि मात्र लेमिनेशन गर्दा उपयुक्त हुन्छ । त्यस वेला सम्म कागजमा बेरेर सुरक्षित राख्नु पर्छ ।  

४. नागरिकता कहिले बनाउने ? कति उमेर चाहिन्छ ?

नागरिकता बनाउन आउने दिन १६ बर्ष उमेर पूरा भएको व्यक्तिले आफूलाई आवश्यक परेपछि नागरिकता बनाउन सक्दछ । सार्वजनिक विदा नपरेको, कार्यालय खुलेको जुनसुकै दिन पनि नागरिकता बनाउन सकिन्छ ।

५. कागजपत्र सक्कलै पेश गर्नुपर्ने हो कि फोटोकपी  मात्रले पनि हुन्छ ?

नागरिकता बनाउन चाहिने सवै कागजातहरुको फोटोकपी  आवेदनसाथै पेश गर्नुपर्छ । कागजपत्रको सक्कल हेरेर मात्र आवेदन रुजु गरिने हुँदा सवै कागजपत्रको सक्कल प्रति पनि साथै लिइ आउनुपर्छ । रुजु गरे पश्चात सवै कागजपत्रका सक्कल भने फिर्ता पाइन्छ ।

६. नागरिकता बनाउन कस्तो फोटो चाहिन्छ ?

नागरिकता बनाउने ब्यक्तिको मात्र फोटो चाहिन्छ । अभिलेखमा १, प्रमाणपत्रमा १ र आवेदन (अनुसूची) मा १ गरी जम्मा ३ प्रति एकै खालको फोटो चाहिन्छ । फोटोको आकार प्रकार २.५x३ से.मी., रातो तथा रङ्गिन पृष्ठभूमी नभएको र सेतो पृष्ठभूमी भएको, फोटोमा बोर्डर नभएको, दुवै कान सहित प्रष्ट रुपमा मुखाकृति देखिएको, चश्मा नलगाएको, अधिकमात्रामा गरगहना वा अन्य सृङ्गारका सामान नपहिरिएको, ढाकाटेपी बाहेक अन्य टोपी नलगाएको (धार्मिक साँस्कृतिक बाहेक), रंगिन फोटो हुनुपर्दछ ।

७. नागरिकता लिन कति समय लाग्छ ?

आफू स्थायी रुपले बसोबास गरेको वडाबाट सिफारिश भइ आएको र रित पुगेको आवेदन भएमा नागरिकता बनाउन खासै समय लाग्दैन । आवेदन बुझाएको केही घण्टा भित्रै नागरिकता बन्छ ।

८. नागरिकता लिने प्रकृया के हुन्छ ?

सर्बप्रथम नागरिकताको अनुसूची फारममा सवै विवरण ठिकसँग भर्ने र फोटो टाँस गरी आफ्नो स्थायी ठेगाना भएको वडा कार्यालयमा फारम बुझाउनु पर्छ । वडाले फारममा सिफारिश गर्दछ । यस्तो फारममा वडाबाट  सिफारिश गराउँदा फोटोमा समेत सम्बन्धित वडा कार्यालयबाट हस्ताक्षर गरी प्रमाणित गराउनुपर्ने हुन्छ । यसपछि  आवश्यक सवै कागजात संगल्न राखी नागरिकता फाँटमा पेश गर्नु पर्छ । काजगात सवै दुरुस्त भए फाँटवाट सक्कल अनुसार रुजु गरिन्छ । यस पछि सनाखन गर्नेले र नागरिकता लिनेले सहिछाप गरिदिनु पर्दछ । त्यसपछि नागरिकताको कार्ड तयार भई  प्रशासकीय अधिकृतबाट हस्ताक्षर हुन्छ, नागरिकताको अभिलेखमा नागरिकता प्राप्त गर्ने व्यक्तिले ल्याप्चे सहिछाप गर्ने र प्रमाणपत्र बुझ्ने काम हुन्छ।

९. नागरिकता बनाउँन कति शुल्क लाग्दछ ?

नयाँ नागरिकता आवेदन (अनुसूची) का लागि रु. १०।- को टिकट र नागरिकता प्रतिलिपिका लागि रु १३ को टिकट टाँस्ने बाहेक नागरिकता प्रमाणपत्र बनाउन कुनै किसिमको सेवा शुल्क र दस्तुर लाग्दैन । तर सिफारिश गर्ने गाँउपालिका/नगरपालिका वा वडामा भने तोके अनुसार सिफारिश दस्तुर लाग्न सक्दछ ।

१०. नेपाली नागरिकता बनाउन कहाँ जाने ?

आफ्नो स्थायी ठेगाना भएकै जिल्लाको जिल्ला प्रशासन कार्यालय वा ईलाका प्रशासन कार्यालयबाट मात्र नागरिकता प्रमाणपत्र बनाउन सकिन्छ । 

जिल्ला प्रशासन कार्यालयबाट समय समयमा नागरिकता टोली, घुम्ति शिविर समेत खटिने गरेको हुन्छ । आफ्नो स्थायी ठेगाना भएकै ठाँउमा यस्तो टोली खटिएमा टोलीबाट पनि नागरिकता बनाउन सकिन्छ ।

अन्यत्र जिल्लामा स्थायी ठेगाना भएका तर हाल दोलखा जिल्लामा कार्यरत सरकारी कर्मचारीको परिवार भएमा यसै जिल्लाबाटै पनि नागरिकता बनाउन सकिन्छ ।

यस पूर्व विभिन्न समयमा मजिष्ट्रेट, बडाहाकिम, अञ्चलाधीश कार्यालय, विशेष अधिकृत, प्र.जि.अ. को कार्यालय, जिल्ला कार्यालय वाट नागरिकता जारी हुने गरेको थियो । तर हाल भने जिल्ला प्रशासन कार्यालय र मातहत कार्यालयबाट मात्र नागरिकता जारी हुन्छ ।

दोलखा जिल्ला स्थायी ठेगाना भएका वा अन्यत्रबाट यस जिल्लामा बसाइ सराई गरी आएका वा विवाह गरी यस जिल्लामा आएका महिलाले दोलखा जिल्लाबाट नागरिकता लिन सक्दछन् ।

११. नागरिकता बनाउन को-को आउनु पर्छ ?

नागरिकता बनाउन निवेदक स्वंयम र निजलाई सनाखत गर्ने व्यक्ति जस्तै बाबु, आमा, दाजु, दिदी वा एकाघरका परिवारका सदस्यहरु अनिवार्य रुपमा कार्यालयमै उपस्थित हुनुपर्छ ।

१२. सनाखत के हो ? सनाखत कस्ले गर्नुपर्छ ? कहाँ र कसरी गर्नु पर्छ ?

नागरिकताको निवेदन दिने मानिस मेरो तीनपुस्ता भित्रको नाताको व्यक्ति हो, निजलाई नेपाली नागरिकता दिएमा पछिसम्म फरक पर्ने छैन । फरक परेमा कानून बमोजिम सहुँला बुझाउँला भनी कार्यालयमा उपस्थित भई सहिछाप गर्ने काम सनाखत हो ।

सनाखतको लागि एकाघरका वा नाता खुलेको अभिभावक हुनुपर्दछ । सम्भव भएसम्म बाबु वा आमाले सनाखत गर्नु पर्दछ । सो नभएमा तीन पुस्ता भित्रका बंशज खुलेका अभिभावकले सनाखत गर्न सक्दछ । आमाले सनाखत गर्ने अवस्थामा आमाको नागरिकतामा पति (निवेदकको बुबा) को नाम कायम छैन भने विवाहदर्ता वा विवाह प्रमाणित समेत पेश गर्नु पर्छ ।

नागरिकता फाँटमा नै सम्बन्धित कर्मचारीको रोहवरमा सनाखत गरिन्छ ।यस अन्तर्गत निजले भने अनुसारकै नाताको व्यक्ति हो भनी एकिन गर्नका लागि सोधखोज गर्ने र एकिन भएपछि सहिछाप गराउने काम हुन्छ ।  

१३. शैक्षिक प्रमाणपत्र र जन्मदर्तामा जन्ममिति फरक-फरक छ भने के हुन्छ ?

शैक्षिक प्रमाणपत्र र जन्मदर्तामा जन्ममिति फरक पर्नु हुदैँन ।

१४. शैक्षिक प्रमाणपत्र र जन्मदर्तामा नाम फरक-फरक छ भने के हुन्छ ?

एसएलसी/एसइइ सरहको शैक्षिक प्रमाणपत्रमा उल्लिखित अनुसारकै नाम कायम गरी नागरिकता प्रमाणपत्र बनाउनुपर्ने हुन्छ । नागरिकता बनाउने व्यक्तिको नाम शैक्षिक प्रमाणपत्र र जन्मदर्तामा फरक पर्न हुदैँन । बुबा आमाको नागरिकता प्रमाणपत्र अनुसार नै जन्मदर्ता र शैक्षिक प्रमाणपत्रमा नाम हुनुपर्दछ । यदि बुबा आमाको नागरिकता प्रमाणपत्र अनुसार नाम जन्मदर्तामा फरक पर्न गएमा सम्बन्धित वडाबाटै दुवै नाम थर गरेको व्यक्ति एकै व्यक्ति हो भनी सिफारिश ल्याउनु पर्दछ ।

१५. कस्ता व्यक्तिले वंशजको आधारमा नागरिकता प्राप्त गर्दछन ?

कुनै व्यक्तिको जन्म हुँदा निजका बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्तिले वंशजको आधारमा नागरिकता प्राप्त गर्न सक्दछ ।

१६. बंशजको आधारमा नागरिकता लिन के के कागजपत्र पेश गर्नुपर्छ ?

बंशजको आधारमा नागरिकता लिन अनुसूची १ बमोजिमको नागरिकता आवेदन फाराम (आफ्नो वडाबाट सिफारिस भइ आएको हुनुपर्ने), आमा र बाबुको नागरिकता प्रमाणपत्र (बंशज खुलेको हुनुपर्ने), जन्मदर्ता प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्नु पर्छ ।

१७. आमाको नागरिकता पेश नगरी नागरिकता बनाउन मिल्दैन र ?

आमाको नागरिकता पेश नगरी पनि नागरिकता वनाउन सकिन्छ । यस्तो नागरिकतामा बाबुको नाम मात्र उल्लिखित हुन्छ । आमाको नाममा खालि रहन्छ । तर आमाको नागरिकता पेश गर्दा प्रमाणपत्रमा आमाको नाम समेत उल्लिखित भई आउछ ।आमाको नागरिकतामा बाबुको नाम रहेको छैन भने बाबु आमाको विवाह दर्ता समेत पेश गर्नुपर्दछ ।

१८. बाबु आमाको नागरिकता नवनाएको तर हजुरबुबा हजुरआमा वा काका ठूलाबाको नागरिकता भएको अवस्थामा नागरिकता बनाउन मिल्छ ?

बाबु आमाको नागरिकता नबनाएको अवस्थामा बंशजको नागरिकता प्राप्त हजुरबुवा/दाजु/सहोदर काकाहरुको ना.प्र.प. का आधारमा नागरिकता बनाउन सकिन्छ । यस्तो अवस्थामा व्यहोरा खुलेको वडाको सिफारिश आवश्यक पर्दछ ।

१९. बाबु आमाको ठेगान नभएको व्यक्तिले नागरिकता पाउन सक्छ ?

नेपाल सरहदभित्रै फेला परेको तर पितृत्व/मातृत्वको ठेगान नभएको कुनै व्यक्तिको बाबु वा आमाको पत्ता नलागेसम्म यस्तो व्यक्तिले नागरिकता लिन निज बालमन्दिर वा अनाथ बालबालिका संरक्षण गर्ने संघ संस्था वा अनाथालयको संरक्षणमा हुर्के बढेको भए त्यस्तो संस्थाको सिफारिस, कुनै व्यक्ति विशेषले प्रचलित कानून बमोजिम संरक्षकत्व प्राप्त गरी पालनपोषण गरेको भए निजको नागरिकता पेश गर्नु पर्दछ । संस्थामा हुर्केको भए संस्थाका प्रमुखबाट र व्यक्तिले संरक्षकत्व दिएको भए पालनपोषण गर्ने व्यक्तिबाट सनाखत हुनुपर्दछ । निवेदकको पितृत्व वा मातृत्वको सम्बन्धमा आवश्यकताअनुसार स्थानीय तहको सिफारिश वा प्रहरी प्रतिवेदन माग गर्न सकिनेछ ।

यस्तो व्यक्तिको नागरिकता प्रमाणपत्रको बाबु वा आमाको नामको महलमा “पितृत्व/मातृत्वको ठेगान नभएको” व्यहोरा जनाई संरक्षकको नाम, थर र ठेगाना उल्लेख गरिन्छ ।

२०. सर्जमिन मूचुल्का कस्तो अवस्थामा गर्नुपर्छ ?

सनाखत गर्ने व्यक्तिले शंकास्पद रूपमा सनाखत गरेको लागेमा थप छानबिन हुन सक्दछ । निवेदकको बाबु आमाको सम्बन्धमा वा स्थायी ठेगानाका सम्बन्धमा थप कुरा बुझ्नु पर्ने भएमा स्थलगत सर्जमिन वा प्रहरी सर्जमिन माग गर्न सकिन्छ ।

यसरी हेर्दा नागरिकता बनाउने सामान्य उमेर भन्दा ढिलो गरी आएका, बाबु वा आमाको वारेमा स्पष्ठ नखुलेको, स्थायी बसोवासका बारेमा प्रष्ट नभएको लगायतका व्यक्तिको नागरिकता बनाउने क्रममा सर्जमिन बुझ्न सकिन्छ ।

२१. जन्मदर्ता वा शैक्षिक प्रमाणपत्र दुवै चाहिन्छ की एक मात्र भए हुन्छ ?

नागरिकता बनाउन जन्मदर्ता अनिवार्य रुपमा चाहिन्छ । एसएलसी/एसइइ वा सो भन्दा वढी पढाइ भएका व्यक्तिको हकमा शैक्षिक प्रमाणपत्र समेत पेश गर्नुपर्दछ । शैक्षिक प्रमाणपत्र पेश नगर्दा यसमा उल्लिखित अनुसार नाम थर जन्ममिति नागरिकतामा फरक पर्न सक्ने हुन्छ । शैक्षिक प्रमाणपत्र पेश गर्दा शैक्षिक प्रमाणपत्र र नागरिकतामा नाम थर जन्ममिति उही रहन्छ ।

२२. यस जिल्लाका नागरिकसँग विवाह भएकी नेपाली महिलाले नागरिकता कहाँवाट लिने के कागजात चाहिन्छ ?

नागरिकता प्रमाणपत्र नलिदै यसै जिल्लाका नागरिकसँग विवाह भएकी नेपाली महिलाले यसै जिल्लाबाट नागरिकता बनाउनु पर्दछ । यसका लागि पतिको नागरिकता, विवाह दर्ता र माइति तर्फका बाबु र आमा वा दाजु/भाइको नागरिकता प्रमाणपत्र (बंशज खुलेको हुनुपर्ने) सँलग्न राखी वडावाट सिफारिश सहितको अनुसूची फारम पेश गर्नु पर्दछ । निजको नागरिकताको लागि पति (नभए ससुरा, सासु, देवर वा जेठाजुमध्ये कोही) को सनाखत आवश्यक पर्दछ ।

२३. विवाह गरेकी महिलाले नागरिकतामा माइतिपट्टि वा घरपट्टिको थर राख्नुपर्छ ?

विवाहिता महिलाले विवाह पछि माइति तर्फ वा घरतर्फको वा दुवै थर प्रयोग गरी नागरिकता वनाउन सक्दछन् । तर शैक्षिक प्रमाणपत्रमा भएको थर अनुसार नै नागरिकता बनाउदा भने पछि सम्म पढ्न तथा रोजगारी र व्यवसायमा सजिलो पर्न सक्दछ ।

२४. अन्यत्र जिल्लाबाट यस जिल्लामा बसाइ सराइ गरी आएकाले नागरिकता प्रमाणपत्र बनाउन के कागजात चाहिन्छ ?

माथि भनिएका कागजातको अलावा यस जिल्लको वडामा दर्ता भएको बसाइसराई दर्ताको प्रमाणपत्र, जग्गाधनी पुर्जा/बिजुली/टेलिफोन (Landline) आदिको ग्राहक कार्ड घर कर रसिद र सम्बन्धित जिल्लाबाट नागरिकता नलिएको प्रमाणित अभिलेख आवश्यक पर्दछ ।

२५. नेपाली नागरिकसँग विवाह गरेकी बिदेशी महिलाले नागरिकता लिन मिल्छ की मिल्दैन ?

नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलाले नेपालको वैवाहिक अंगिकृत नागरिकता प्राप्त गर्न सक्छिन। त्यस्ता महिलाले अन्य कागजातका साथै यस जिल्लाका नागरिकसँग विवाह गरेको विवाह दर्ता र विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पनि पेश गर्नु पर्दछ । यस्तो निस्साको रुपमा सम्बन्धित दूतावासको पत्र वा सम्बन्धित देशको कानून अनुसारको कागजात वा हुलाकबाट पठाएको निस्सा संलग्न गर्नुपर्छ । निवेदन उपर आवश्यक छानबीन गरी वैवाहिक अंगिकृत नागरिकता प्रदान गरिन्छ।

२६. यसै जिल्लामा कार्यरत कर्मचारीको परिवारले कसरी नागरिकता वनाउने ?

अर्कै जिल्लामा स्थायी ठेगाना भई यसै जिल्लामा कार्यरत रहेको नेपाल सरकारको स्थायी सेवाका कर्मचारीहरुका परिवारका सदस्यले यसै जिल्लाबाट समेत नागरिकता बनाउन सकिन्छ । नागरिकताका बनाउन २ प्रति फारम र बंशजका लागि चाहिने सवै कागजात संलग्न गरी पेश गर्नुपर्दछ । यसका साथै आफ्नो कार्यालयको सिफारिश र कर्मचारी परिचयपत्र समेत पेश गर्नुपर्दछ ।

२७. नागरिकताको प्रयोजनका लागि कर्मचारी भनेको को हो, परिवार अन्तर्गत को-को पर्दछन ?

नागरिकता वनाउने प्रयोजनका लागि “कर्मचारी” भन्नाले नेपाल सरकारको कोषबाट तलब भत्ता खाने कर्मचारी वा संस्थानका कर्मचारी वा शिक्षक वा प्राध्यापक हुन् । संकेत नम्वर प्राप्त भएका निजामती, सेना, प्रहरी, शिक्षक, सार्वजनिक संस्थान आदिका स्थायी कर्मचारीलाई यस प्रयोजनका लागि कर्मचारी भनिन्छ । अस्थायी करार ज्यालादारी वा अन्य प्रकृति वा संस्थाका कर्मचारीलाई यस व्यवस्थाले समेटदैन ।

 “परिवार” भन्नाले कर्मचारीसँग बस्ने तथा निज आफैँले पालनपोषण गर्नु पर्ने पति, पत्नी, छोरा, अविवाहिता छोरी, धर्मपुत्र, अविवाहिता धर्मपुत्री, बाबु, आमा वा सौतेनी आमा हुन् । पुरुष र अविवाहिता महिला कर्मचारीको बाजे, बज्यै तथा विवाहिता महिला कर्मचारीको सासू, ससुरा समेत परिवार हुन् ।

२८. नेपाली नागरिकता त्याग गर्न सकिन्छ ?

नेपालको नागरिकता त्याग्न चाहेमा त्याग गर्न सकिन्छ । यसै जिल्लाबाट जारी भएको नागरिकता जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा व्यक्ति स्वंयम आइ त्याग गर्न सकिन्छ । यसका लागि नागरिकता प्रमाणपत्रको सक्कलप्रति संलग्न गरी अनुसूची–९ बमोजिमको ढाँचामा सूचना दिनु पर्दछ । सूचना दर्ता भएको मितिदेखि त्यस्तो व्यक्तिको नेपाली नागरिकता समाप्त हुन्छ ।

ब्यक्ति विदेशमा बसेको भए सम्बन्धित नेपाली राजदूत वा नेपाली नियोग प्रमुख वा महावाणिज्यदूत वा वाणिज्यदूतसमक्ष सूचना दिन सकिन्छ ।


पछिल्लो अपडेट गरिएको : 2083-01-09 12:46:56

© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय , सिंगटीबजार, दोलखा .